प्रेम याद र आमा !

“प्रिय,सम्झना,याद,माया अनि प्रेम…. हरेक पल तिम्रो नामको पर्यावाची बनेर आँउदा रैछन,परदेशमा हरेक पल पसिनाको गन्धसंगै खानाको गासमा हरेक पल ढुङगा बनेर आईदिन्छ तिम्रो र परिवारको याद । फोनमा दिनदिनै बोल्न नपाएपनि सात समुन्द्रपारिबाट आफैँसंग बोल्ने र टोलाउने गरि चित्त बुझाउने गरेको छु ।”
बिचमा रहेको एक प्याराग्राफको बिचमा भएका केहि शब्दहरु यसरी पढिरहँदा मलाई उ बेलामा खासै केहि फरक पर्ने गरेको थिएन, हुनत मैले ५–६ कक्षा पढ्ने ताकाको कुरा न हो । मात्र खान, राम्रो लगाउन र साथिहरुसँग खेल्न जान मात्र ध्यान हुन्थ्यो ।

…..

घरमा रहेको पुरानो दराजको एउटा कुनामा आधा च्यात्तिएर बिच–बिचमा प्वाल परिरहेको एउटा कागजको टुक्रा देखिएपछि मेरो हात भन्दा पहिले मस्तिष्कले त्यस टुक्रा कागज तिर कौतुहलता पैदा गरिसकेको थियो । कागज खोलिसक्दा ‘बा’ ले आमालाई परदेश हुदाँ पठाएको चिठि रहेछ हतार हतार खोलेँ तर पुरै पढ्न मिल्ने खालको कागज थिएन,छिद्रा छिद्राको बिचमा रहेका पढ्न मिल्ने र अक्षर बुझिनेसम्म पढ्ने प्रयास गरेँ । सायद, उ बेलामा अहिलेको जस्तो फोन र सामाजिक सञ्जालको सुबिधा भएको भए बा लाई यती धेरै कष्ट गरेर महिनौको पर्खाइमा आमा संग एकोहोरो सञ्चारमा जोडिन पर्ने थिएन होला । अनि आमालाई पनि कति गाह्रो थियो होला त्यो बेलाको समाजमा बा परदेशमा हुदा पनि सन्तानलाई पालन पोषण गर्न , समाजका अगाडी अरु भन्दा कमी हुन नदिन र सन्तानलाई हरेक पल खुसी दिन बा को अनुपस्थितीमा पनि । आमाले कहिल्यै पनि बा संग एकोहोरो सञ्चारमा ढिलै भएपनि पुरुषप्रधान यो मुलुकमा कहिल्यै पनि केहि काम वा निर्णय गर्दा बा को एकोहोरो पत्रकै पर्खाइमा बसिरहीन ।

बा को अनुमति बिना कहिल्यै केहि नयाँ कामको सुरुवात गर्दै गरिनन, केवल आफ्नै सन्तानको प्रगती र भविष्यको बारेमा अनि बा को पर्खाइमा । हुनत उ बेलामा कहाँ महिलाले श्रीमानको अनुमती बिना यो समाजमा के नै गर्न पाउँथे र ? अनि अहिले जस्तो स्वस्निर्णय लिने अधिकार पनि यो समाजले कहाँ दिएको थियो र ? सधै आमाले बा कै पर्खाइ र यादहरुमा दिनरात कटाउनुपर्ने बाध्यता थियो । साथमा रहेका सन्तानहरुको मुख हेरेर र खुसी अनि प्रगतिको कामना गर्नु त दैनिकी थियो आमाको । हरेक चाडपर्व आउँथ्यो अनि आमाले सन्तानको खुसीको लागी आफ्नो दुख भुलेर सन्तानको लागी सगै हासीदिन पर्थ्यो संगै बसेर रोइदिन पर्थ्यो केवल हाम्रै खुसी र प्रगतीको लागी ।

…..

चिठिका दुई लाईनका त्यत्ति शब्दहरुले यो संसारमा कुनै पनि व्याख्या गर्न नसकिने अनेकौँ र करोडौ शब्दहरुको महासागर बनेर मानसपटलमा ताजा बनेर झक्झकाउन थाले । बा र आमाको प्रेम कति गहिरो थियो । हरेक समय आफ्नो सन्तानको खुसीको लागी बाँचिरहन्थे सामिप्यता बिना पनि । यो समाज जस्तो भएपनि समाजका अगाडी सधै राम्रो र हरेकको मार्गदर्शक बनेर परिचय बनाएका थिए बा र आमाले ।

संघर्ष र जीवनका बाटोहरुमा कहिलेकाही टाढा भएपनि कति गहिरो प्रेम माया र त्याग थियो । धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’को आधारमा तीजमा बा कै दीर्घजीवन र जीवनमा राम्रो फलको आशा राखेर ब्रत बस्ने गरेकी थिईन । कति गहिरो थियो अर्गानिक प्रेम भित्र धार्मिक आस्था पनि पनि । साहुले बा लाई घर बस्ने छुट्टी दिएसम्मको अन्तिम दिनको अघिल्लो रात, निद्रा हरणको त्यो रात सन्तानको खुसी र बिछोडको पिडाले रातभर पोलिरहन्थ्यो होला ? तर पनि अनुभव गर्नै नसकिने प्रेम थियो बा र आमाको एक अर्का बिना लामो समयसम्म छुट्टिएर मन बुझाउन सक्ने ।
कुनै पनि कुराले एक अर्काको मन नबुझेपनि एक अर्काबिना बाच्न सक्देनथे पनि , सन्तान उनिहरुको खुसी थियो र यो समाज । सन्तान जन्मनु भन्दा पहिले पनि बा प्रति आमाको माया कतै कमी भएको थिएन । टाढा हुदा पनि प्रेम प्रति पुर्ण विश्वास थियो । नकि दिनदिनै फोनमा बोलेर सबै कुरा सोध्न संभव नै थियो । धावा बोल्ने समाजको कहिल्यै बिश्वास नगरी सधै बा कै मात्र शरण र विश्वासमा बाचिरहिन होला । बा पनि आमा बाहेक अरु सोच्न पनि कहाँ सक्थे र हरेकपल आशा बिश्वास र कल्पना बनेर सन्तानको खुसीको लागी परदेशमा पसिनालाई रगत संग साटिरहेका हुन्थे । दुबैमा एक अर्काप्रति बिश्वास थियो । कहिलेकाही सम्झनामा रातहरु बितिरहन्थे अनि हरेक निर्णयमा सन्तानहरुको रहर र खुसी पुल बन्ने थियो होला । हरेकपल हर समय यादहरुमा कति तड्पिन्थे होला ? बाधक माया बन्दिन पुग्थ्यो परदेश जहाँ लाखौ खुसीहरु बेचेर सयौको संख्यामा खुसी किन्नुपर्थ्यो । आफ्ना सन्तानलाई खुसी किन्न तिनै सयौ खुसीहरुमा लाखौँ खुसीहरु थप्न पनि पछि परिनौ है आमा । परदेश पसिना बेच्दाबेच्दै आफ्नो ज्यानमा कहिल्यै राम्रो लुगा नलगाई आमा र सन्तानको लागी खुसी र मायामा रमाउने बा । एक अर्काप्रति हरेक कुरामा विश्वास गरिरहने आमा र बा ।

…..

हामी त अहिले उ बेला जस्तो न त समाजमा छौँ न त दुर–दराजमा । अहिले त हरेक पल हरेक समय यादहरुलाई प्रबिधिले पनि नजिक ल्याईदिएर छोडेको छ । हरेक समय एक अर्काको सामिप्यतामा पुग्न सकिरहेका छौ । यसको प्रयोगले हाम्रो सम्बन्धलाई सयौ समुन्दपारीको देश सम्म पुर्याईदिएको छ उ बेलामा बा ले समुन्द्रपारीबाट आएको एकोहोरो सञ्चारको माध्यम भेटिएको चिठिको एक टुक्रामा लेखिएको सम्झना,माया अनि प्रेम हरेक पल आमाको नामको पर्यावाची बनेर पसिनाको गन्धसंगै खानाको गासमा हरेक पल ढुङगा आईरहेको जस्तो प्रेम बनिरहेको छ । दुखी त नदि पनि हुन्छ होला नि,अविरल बगिरहने बानी एक्कासी महासागरमा पुगेपछि कुण्ठित जो हुनुपर्छ, तरपनी हरदम चट्टानहरु फोड्दै, पहाडहरु छिचोल्दै अनन्त निरन्तर बगिरहन्छ । हो अव तिमी पनि सन्तानको आमा पक्कै बन्नु जरुर हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ