वञ्चित गराउने दैवसंग पनि बदला लिनु छ….!

पल्लो कोठाको सुशिल भाईले मुस्कुराँउदै हात मिलाउँदै भन्दै थियो, आउनु भो दाइ, मैले हाँस्दै उत्तर दिँए, हजुर भाई के छ ? कति बेला कोठा आईपुग्यौ ? दिनभरीको थकान मेटाउन कोठामा आइनपुग्दै बाहिरै बाट भाइ बोल्यो ।

सायद उ पनि जागीरबाट दिनभरीको काम सकाएर केही मिनेट पहिले कोठामा आईपुगेको थियो बेलुकाको ७ बजेतिर । यसो हातमा लगाएको घडी हेर्दै भने, म भने आज अलि छिटो आएको ७ बजेर ४५ मिनेट जाँदा ।

पल्लो किचनमा छिर्न नै मन लागेन, यता अर्को कोठामा छिँरे अनि दिनभर धुलैधुलो संग सामिप्यतामा रहेका लुगा फुकाँले, बाथरुम मा छिँरे अनि हात मुखलाई पानी संग नजिकाँए । लाग्यो आजको लागी धुलो र धुवाँ यत्तीमै सिमित भए । कोठामा लुगा चेन्ज गर्दै थिँए यत्तिकैमा सुशिल भाईले बोलायो, दाइ ! आज खाना म पकाएको छु यतै खाँउ ल, मैले ओके भाइ भनिदिएँ । कहिलेकाहिँ म ढिला आउँदा भाईले खाना पकाएको हुन्थ्यो सायद आज पनि खाना पकाएछ ।

सुशिलको कोठामा छिँरे, उ मोवाईलमा गीत बजाएर बसीरहेको थियो, अनि मेरो मुखमा हेर्दै भन्यो, दाई बस्नुस अव एकछिनमा खाना खाउँला । म उ नजिकै बसेँ । उसले सोध्यो दाइ, आज दिनभर कस्तो बित्यो ? मैले उत्तर दिएँ यस्तै त हो नि भाइ संचारकर्मीको जीन्दगी दिनभर अर्कैका लागी कुद्यो बेलुका आँफु कोठामा आउँदा आफ्नो यही हो बेहाल । यत्ती भने । खै किन हो लामो सास फेर्न मन लाग्यो आँफैलाई देखेर ।

कहिलेकाही घरको सम्झनाले एकदमै मन खिन्न हुन्थ्यो । सानैमा आमाको माँया र काखबाट बञ्चित गराएको दैब संग पनि बदला लिनु थियो कुनै दिन , मेरो यो उमेरमा मलाई भाइहरु संग किन छुटाईस अनि मेरा दिदीहरुसंग भाइहरु संधै तिहारमा दिर्घजीवी हुनु भनेर लगाईदिएको तेलको धारा र सप्तरंगी टिकाको पैचो तिर्नु थियो ।

यत्तिकैमा भाइले भन्यो, आज तपाईलाई के भो दाई ? निराश हुनुहून्छ त ? मैले एकै शब्दमा उत्तर दिँए, भाई म अव बिदेश जान्छु । उसले मेरो यो बोली भूईमा नखस्दै भन्यो किन दाइ ? तपाईलाई त यहि ठिक छ त । मैले भने हो भाइ तिम्ले देख्दा त यहि ठिक छ तर मलाई अव ठिक छैन भाइ यत्ति भने र फेरी लामो सास फेँरे । आज किन हो किन सुशिल संग यत्ती धेरै खुलेर बोलेँ र अझै भन्न मन लाग्यो आफ्नो संचारकर्मको कथा । सायद बाहिर देख्नेले पनि बुझुन पत्रकारको भित्रि कथा । म आज आफै बरबराईरहेको थिँए, नजिकको मानेर सुशिल भाइसंग ।

यत्तिकैमा सुशिलले भन्यो दाइ तपाई कहिले बाट पत्रकारिता सुरु गर्नु भाको रे ? म उ तिर फर्कदै भने, भयो भाई लगभग ११ बर्ष । उसलाई सबै सुनाए आज मेरो कथा , तलबमा काम गरे देखि आँफु मिडिया संचालक सम्मको कथा । कुनै बेला २५०० रुपैया तलबमा काम गरे देखि हातमा पत्रिका बाँडेको अनि कलेज फि तिर्न मार्केटिङको जागीर देखि अहिले सम्मको कथा ।

…..

कति दिन त यो बिरानो शहरमा खल्तीमा एक सुको नहुँदा, त्यै बेला ग्यास सकिएको हुन्थ्यो, न त दाल अनि चामल नै हुन्थ्यो । कोठामा चिउरा र दालमोठ अनि चाउचाउसंग कयांै रातहरु बितेका थिए । सायद एक छाक खाना भन्दा चिउरा, दालमोठ र चाउचाउको मुल्य कम भएर नै होला । अझ भन्ने हो भने ३ दिन सम्म त चिउरा, दालमोठ पनि नहँदा १ कप चियाको भरमा दिनहरु बितेका थिए त्यै पनि घर अगाडीको सुजन भाइको चिया पसलमा उधारो । यो शहरमा चिनेका साथीहरु भने आफ्नो खल्तीमा पैसा हुन्जेल सम्म हो, आफुँ संग पैसा नभएको थाहा भएपछि साथीहरु पनि टाढा–टाढा हुने गर्थे । कलेज पढ्दा साथीहरु क्यान्टीनमा खाजा खान जाँउ भन्दा मैले आज मेरो पेट दुखेको छ, आज म केहि खाँदिन यार भन्दै साथीहरुलाई पठाएको सम्झीरहेको थिँए । म भाइ तिर फर्किए, म एकोहोरो बोलिरहँदा आडैमा सुशिल भाईले टाउकोमा हात लगाएर सुनिरहेको रहेछ । यत्तिकैमा उ म तिर फर्केर फिस्स हाँस्यो म केहि बोलिन । मैले आफ्नो कथालाई रोकिन सम्झे सम्म नसम्झु नी कसरी जुन समयले मलाई काठमाण्डौ शहरमा पत्रकार हेमन्त भनेर चिनाएको थियो ।

कति महिना त कोठा भाडा तिर्नकै लागी मात्र जागीर गरेको थिँए । महिनाको २५ सय तलब थियो कोठा भाडा १६ सय । अनि जागीर सम्म जाँदा आउँदा दिनको १४ रुपैया भाडा थियो । त्यै २५ सय भित्र आफ्नो दैनिक खाजा पर्ने थियो अनि कसरी कोठामा खाना पकाउने पैसा नै पुग्थ्यो र ? यस्ता संघर्षका कथाहरुको भारी बोकेर भएपनि पाईलाहरुलाई कहिल्यै पनि पछि हट्न भने कदापी दिएको थिईन मैले । जब शनिबार आउँथ्यो साईकलमा प्लाष्टिकका झोला र महिनावारीमा महिलाहरुले प्रयोग गर्ने प्याडहरु बेचेर केहि आम्दानीहरुको अर्को बाटो पनि रोजेको थिँए । यहि आम्दानीले कलेज फि तिर्न जनतन पुग्ने गर्दथ्यो । कलेज भर्ना मात्र भएको थिँए, तर कलेजको पढाई त तेश्रो बर्ष मात्र पढेको हुँ २ बर्ष त बिहान ४ बजे देखि साईकलमा पाउरोटी बेच्ने काम नै निरन्तरता थियो, चाहे पुस माघको जाडो होस या बर्षायामका झरी ।

जब चाडपर्व आउँथ्यो अनि मन अमिलो हुन्थ्यो, लाग्थ्यो गरिबहरुका लागी चाडपर्व अभिसाप नै हो जसले खाटा बसेका घाउहरुलाई झन नुन अमिलो छर्केर चहराउने प्रयास गर्ने गर्थ्यो । घरमा दुई भाइहरुलाई छोडेर म संघर्षको कथा बुन्न शहरमा आएको थिँए । कहिलेकाही घरको सम्झनाले एकदमै मन खिन्न हुन्थ्यो । सानैमा आमाको माँया र काखबाट बञ्चित गराएको दैब संग पनि बदला लिनु थियो कुनै दिन , मेरो यो उमेरमा मलाई भाइहरु संग किन छुटाईस अनि मेरा दिदीहरुसंग भाइहरु संधै तिहारमा दिर्घजीवी हुनु भनेर लगाईदिएको तेलको धारा र सप्तरंगी टिकाको पैचो तिर्नु थियो । लगभग ८ बर्षको अन्तरालमा आँशुको नदीबाट पौडी खेलेर तर्न सफल भएपछि मात्र दिदीहरु संग भेट भएको थियो मेरो ।

विचरा सुशिल आफ्नो ६ बर्ष केहि समय गर्लफ्रेण्डलाई दिएको थियो जुन समय जन्म दिने आमाले त्यती पाएकी थिईनन् उसको माया ।

यस बिचमा न म कोही आफन्तहरुको पाउ ढोग्न पुगें न त कसैको सम्पर्कमा नै ! बस यत्ती मानिसहरुको सामिप्यमा रहँे जहाँ संघर्षको मैदानमा बनेका मेरा दाजुभाइ साथीहरु थिए, कहिलेकाही भेट हुँदा संगै हाँसीदिने र हालखबर सोध्ने । म त केवल एउटा अनाथ नै थिँए, भाइहरुको लागी दाजु र दिदीहरुको लागी एउटा भाई, अहिले साथीभाइहरुका लागी संधै हासिरहने साथी भाइ, र एउटा संचारकर्मी यत्ती हो मेरो परिचय । यत्ती परिचय मलाई काठमाण्डौले दिएको हो अव अर्को परिचय थप्ने प्रयास आफैँले गर्दै छु एउटा परदेशी ।

यत्तीकैमा सुशिल भाइले सिरानी नजिकै रहेको मोवाईल हेर्यो, र मलाई भन्यो दाइ…..

 १० बजिसक्यो अब खाना खाऔँ । म झल्यास्स भएँ र भाइलाइ हेरेँ अनि फिस्स हाँसे, खाना खाने भाइ ? उसले टाउको हल्लायो र खाना खाने अनुमती माग्यो । मेरो बोली नै आएन । निशब्द भएँ । हात धोँए र खाना खान बसेँ उ संगै । खाना पस्केर थालमा आडैमा भएको खानामा हात लगेँ तर खाना खान मन लागेन, जस्तो कि बर्षा पछिको वातावरण हराभरा भए जस्तो मन एकदमै सफा , जव सुशिललाई आफ्नो कथाका केहि अंश सुनाइरहँदा । मुखमा एक गास लैजादै सोँचे,हुन त यस्ता कथा काठमाण्डौमा धेरैका हुन्छन कसैले सुनाउछन कसैले लुकाउँछन, बस फरक यत्ती हो ।

यत्तिकैमा सुशिल म संग केहि बोल्न खोज्दै थियो तर बोलेन, उसको मोवाइलमा उसको गल्फ्रेण्डको फोनको घण्टी बज्यो, सायद उसको ध्यान त्यै मोबाइलको घण्टीले तान्यो ।

…..

सुशिल गर्लफ्रेण्डसंग फोनमा बोलिरंहदा केहि शब्द मेरो कानमा यत्ति सम्म झंकार बनेर सुनियो की उसको गर्लफ्रेण्ड उसलाई बिदेश जान प्रेरित गरिरहेकी थिई, अनि प्रेमलाई पैसा संग तुलना गरिरहेकी थिई, यदि उसले भने बमोजिम नभए आफुसंग छुट्टिने सम्मका कुरा गरिरहेकी थिई उसले । बषौको उसको प्रेम यहाँ पैसा, धन संग बलिदानी दिने तयारीमा देखिएको थियो । विचरा शुसिल आफ्नो ५-६ बर्षको समय गर्लफ्रेण्डलाई दिएको थियो जुन समय अहिले सम्म जन्म दिने आमाले त्यती आभाष पाएकी थिईनन् उसको माया ।

हिजो आज मैले बिहे गर्नुपर्यो भन्दा सबैले “पैसा कति जम्मा गरेको छस, कति छ कमाई, अहिले सम्म त कतै जग्गा जोडेको होलास नी” यस्ता खालका पटक पटक सोधिरहने प्रश्नहरुको मुकाविला गर्नु परेको छ । मैले लामो सास फेरे अनि आफैलाई धिक्कारे, “हे प्रभु पैसा नै सबै थोक रहेछ, यो शहरमा, कस्तो समाजमा जन्म दियौ” मुखबाट रोक्दारोक्दै यी शब्द फुस्किहाल्यो ।

-कसैको जीवनसंग मेल खाएमा केवल संयोग मात्र हुनेछ । धन्यबाद !

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ