
काठमाण्डौ । आईसीसी लिग टू अन्तर्गत त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३२ औँ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।
नेपालका सोमपाल कामीले ३ तथा ललित राजबंशीले २ र रोहित पौडेलले १ विकेट लिए । त्यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२ औँ ओभरमा १३२ रनमा अलआउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा बढी ४४ रन बनाए । यस्तै यस्तै गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्साफले १२ रनको योगदान गर्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो बलमै कुशल भुर्तेल आउट भएको खेलको तेस्रो ओभरमा अनिल साह, छैटौ ओभरमा आशिफ शेख र दशौँ ओभरमा रोहितकुमार पौडेललाई गुमाएको थियो । यसरी पहिलो पावरप्ले सकिँदा नेपाल ४ विकेट गुमाएर २१ रन बनाएको दयनीय अवस्थामा थियो ।
पाँचौ विकेटका लागि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्नुभयो । सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रुपमा रहेको लिग टू को पहिलो त्रिकोणात्मक शृंखलामा नेपालले फागुन ५ गते नेदरल्यान्ड्ससँग, फागुन ९ गते नामिबियासँग र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग टू मा आठ टोली छन्। आठ टिमले जम्मा १४४ एकदिवसीय खेल खेल्नेछन् । आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता कायम रहनुका साथै विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिमसँग विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्।